अमेरिकी राष्ट्रपति बाराक ओबामा अबको तीन वर्षपछि ५५ वर्षको उमेरमा ह्वाइट हाउसबाट आफ्नो घर र्फकनेछन् । साठी वर्ष कटेपछि सक्रिय राजनीतिक जिम्मेवारीबाट अवकास लिनुपर्ने आवाज नेपाल देशमा उठिरहेको सूचना पाएर ओबामाले ५५ मै सक्रिय पदभार छाड्न लागेका भने होइनन् । राष्ट्रपति पद केवल दुई कार्यकाल सम्हाल्न पाउने 'सिस्टम'का कारण उनी उमेर छँदै अवकासमा पुग्ने हुन् । यस्तै कुनै निश्चित सिस्टम हामीले पनि थालनी गर्न अब जरुरी भइसकेको छ । तर यो प्रकरणमा हामी विवेकले सायद कम सोचिरहेका, आवेगले बढी बोलिरहेका छौं । त्यसैले ६० वर्ष कटेका राजनीतिक नेतृत्वले सक्रिय राजनीति छाड्नुपर्ने 'लोकप्रिय' भाषण हाम्रो विषयवस्तु बन्न प्रयत्नशील छ ।
नवीन राजनीतिक संस्कृति, बूढाहरूले छाडिहाल्ने एवं युवाहरूले खाइहाल्ने भन्ने ढङ्गको विषयवस्तुलाई स्वीकार्दैन । हामी लोकतान्त्रिक परिपाटी बसाउन प्रयत्नशील छौं । लोकतन्त्रमा उमेर समूहकै आधारमा कसैलाई नत नेतृत्वमा निषेध गर्न मिल्छ, न कसैलाई नेतृत्व सुम्पन मिल्छ । निश्चित प्रक्रिया पुरा गुरेर युवाहरूकै काँध चढेर पाकाहरू नेतृत्वमा पुगेका हुन् । अतः हाम्रासामु ३ विकल्प छन् । एक, लोकतान्त्रिक प्रक्रियाउपर धैर्यता राख्ने । दुई, अनिवार्य अवकासको उमेरभन्दा नवीन अवधारणा खोजी गर्ने । तीन, युवा नेतृत्व पंक्तिलाई समाजको भरोसा जित्न सक्ने बनाउने । बूढाहरूसँग समाज निश्चय नै अघाएको छ । तर पछिल्लो पुस्तासँग भरोसा गर्न सकिनेगरी केही मनोवैज्ञानिक, वैचारिक र सांस्कृतिक रूपान्तरणको सन्देश हामीले एकताबद्ध ढंगले दिनसकेका छौं त र ? आत्मसमीक्षा गरौं ।
तीन ठूला दलका युवा संघ(संगठनका प्रमुखले एउटै थलोमा बसेर कुनै एक बिहान एक(एक कप चिया या एक साँझ एक(दुई पेग ह्विस्की पिएर राष्ट्रिय चिन्तन गरेको कम्तीमा ५ वर्ष यता सुनिएको छैन । तिनै ठूला दलका एकसेएक प्रतिभाशाली युवा केन्द्रीय सदस्यले राष्ट्रको संकट निकासका लागि केवल दुई पानाको साझा डकुमेन्ट निर्माण गरेको पनि नेपाल देशमा सुन्न र पढ्न पाइएको छैन । यस्तो अवस्थामा बुद्धिबंगारा नाम गरेको जिनिस ६० वर्ष कटेपछि बल्लतल्ल राजनीतिज्ञहरूमा पलाउने देशमा एकाएक तिनले अवकास लिइदिए भने हाम्रो राजनीति एकदमै सही, स्वस्थ र सुमार्गमा आइपुग्छ त ?
गुलियो सबै गतिलो हुन्न
२३ वर्ष अघिको एक महत्त्वपूर्ण प्रशंग सम्झौं । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक रूपान्तरणको 'जबज' दिनसक्ने र तत्कालीन नेकपा (माले) लाई गतिशील ढंगले हाँक्न सक्ने प्रचुर ऊर्जा मदन भण्डारीबाट अभिव्यक्त भइरहेको थियो । तर पनि पाका अभिभावकको छहारी खोज्नुभो उहाँले, नेकपा माक्र्सवादीसँग आफ्नो पार्टीलाई एकीकृत गर्नुभो र मनमोहन अधिकारीको अध्यक्षतामा आफूलाई समाहित गर्नुभो । स्मरण रहोस्, भण्डारी त्यसबेला 'ढुङ्गा चपाएर पचाउन सक्ने' उमेर (चालीस मुनि) को योद्धा हुनुहुन्थ्यो । तर उहाँको राजनीतिक कौशलले ६० कटिसकेका नेतालाई नम्रतापूर्वक नेतृत्वमा आमन्त्रण र स्थापन गर्यो ।
उसबेला युवाले पाकालाई अघि लगाए, आज पाकालाई पाखा लगाउँ भन्ने माग बढेको छ । ६० वर्ष कटेका राजनीतिज्ञहरूले मैदान छाडेर जानु उचित हुने आवाज युवाहरूबीच 'लोकप्रिय' बन्दैछ । सक्रिय राजनीतिबाट अवकास हुनका लागि ६० वर्षे हदम्यादको प्रवधान राख्न या यस्तो परम्परा थाल्न के जरुरी छ ? 'यसो गरे पो राजनीति स्वस्थ होला कि, निकास निक्लिएला कि' भनेर कोही कसैले असल मनसायकै साथ यस्तो ओखतीको परिकल्पना र प्रस्ताव गरेको हुनुपर्छ । तर पंक्तिकारको ठहर छ, यो ओखती गुलियोमात्र छ, गतिलो विलकुलै छैन । यो प्रस्ताव न दूरदर्शी छ, न व्यावहारिक, नत वैज्ञानिक । यो ओखतीको 'साइड इफेक्ट'को सम्भावित आंँकलन गरिनुपर्छ ।
सात तर्कको सर्त
कम्तीमा सातवटा तर्क हाम्रासामु उपलब्ध छन्, जसले राजनीतिमा उमेरको हदम्याद प्रसंगमा केही फरक मत अभिव्यक्त गर्छन् । प्रथमतः यसको पृष्ठभूमि नै नकारात्मक छ । तत्कालीन राजनीतिक अन्योल र नैराश्यताको पृष्ठभूमिमा यो प्रस्तावले आकार लिएको देखिन्छ । संविधान निर्माण हुन नसकेको, संविधानसभा विघटित भएको, गैरराजनीतिक नेतृत्वमा सरकार बनाइएको, मिति तोकिए पनि नयाँ चुनाव अझै सुनिश्चित हुन नसकेको, लोकतन्त्र दुव्लाएको, लोकमानसिंह मोटाएको र राष्ट्रियताको चिरहरण जारी रहेको । यस्तो परिस्थितिमा जोकोही युवाले 'अब बूढाहरूलाई ननिकाली हुन्न' भनेर आक्रोश व्यक्त गर्न सक्छन् र गरिरहेका पनि छन् । तर सम्पूर्ण रोगको एउटै औषधी हिमालय तेल भनेर टिप्पणी गरिए जस्तै 'हाम्रो आजको राजनीतिक दुर्दशाको एकमात्र समाधान ६० नाघेकाहरूको विस्थापन' किमार्थ होइन । नवीन परम्पराको जग बसाइरहँदा गहिरो अध्ययन र अनुसन्धानको मार्ग अख्तियार गर्नुपर्छ । तर यो प्रस्ताव अन्योल र आवेगको समागमबाट उत्पन्न देखिन्छ ।
दोस्रो तर्कले पनि विवेककै खोजी गर्छ । आजको राजनीतिक संकटको दोषी बूढा नेताहरू जरुर हुन्, तर दोषको मात्रा बराबर छैन भनेर जान्दा-जान्दै 'होलसेल'मा सबै बूढालाई एउटै प्याकेजमा गाँस्न र खाँद्न खोजेको देखियो । संविधान नबन्नुमा निश्चित दल विशेषको विचार र अहंकार प्रधान दोषी हो कि केही थान नेताको बुढ्यौली दोषी हो र ? अघिल्लो जेठ १४ को मध्यरात संविधानसभा वागमती किनारमा दुर्घटित भइरहँदा मुलुकको ड्राइभिङ सिटमा अन्य कुनै पार्टीका कोही बूढा नेता थिए कि माओवादीका ६० वर्ष नपुगेका डा. बाबुराम भट्टराई र ? वस्तुगत भएर विषयको विश्लेषण गर्नु उचित हुन्छ ।
तेस्रो तर्क भन्छ, बूढा हुँदैमा कोही पनि अयोग्य या असक्षम हुँदैनन् र युवा हुँदैमा कोही सक्षम पनि हुँदैनन् । ५९ वर्षको छँदासम्म योग्य र सशक्त र अनि ६० को बर्थडे केक काटिसक्दा अयोग्य र अशक्त र ? यही सन्देश जान सक्छ, यस्तै अर्थ लाग्न सक्छ । अतः दुई-चार बूढाको ऊर्जाहीनतामा प्रश्न उठाइरहँदा ६० कटेका या ६० पुग्दै गरेका हजारौं-हजार राजनीतिक कार्यकर्ता (केन्द्र, जिल्ला र गाउँ सर्वत्र छन्) लाई एउटै घानमा हालेर तिनको योगदान र ऊर्जालाई अपमानित गर्नु गलत हुन्छ । हामी जान्दछौं, फुलेको कपाल न अयोग्यताको मानक हो, नत कालो कपाल योग्यताको प्रमाणपत्र ।
चौथो तर्कमा केही उदाहरण स्मरण गरौं । दक्षिण अफ्रिकामा रंगभेद विरोधी संघर्षलाई दिग्विजय दिलाउँदै गर्दा नेल्सन मण्डेलाको उमेरले ७० को उकालो काटिसकेको थियो । महात्मा गान्धीले अंग्रेज हटाउ आन्दोलनलाई निष्कर्षमा पुर्याइरहँदा ७७ औं जन्मोत्सव मनाइसक्नु भएको थियो । राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर ०३३ मा स्वदेश र्फकंदा वीपी कोइराला ६० नाघेर ६३ मा हुनुहुन्थ्यो भने ६० नाघेको पन्ध्र वर्षपछि गणेशमान सिंहले ०४६ को जनआन्दोलनलाई सफल नेतृत्व गर्नु भयो । प्रथम कम्युनिष्ट प्रधानमन्त्री बनेर इतिहास निर्माण गरिरहँदा मनमोहन अधिकारी साठीको तला उक्लिइसक्नु भएको थियो । वर्षदिन भित्रैमा मुलुकलाई संविधान दिएर बालुवाटारबाट छाता र सुराहीसाथ फकर्ंदै गर्दा कृष्णप्रसाद भट्टराई पनि ६० मुनिको युवा हुनुहुन्थेन । ६० मुनिका गिरिजाप्रसाद भन्दा ८० माथिका उनै नेता नेपाली राजनीतिमा अपरिहार्य र लोकप्रिय नेता बन्न पुग्नुभयो । भारत्तोलन या बक्सिङमा जस्तो यति के.जी. तौल समूहले प्रतिस्पर्धा गर्ने भनेर निर्धारण गर्ने कुरा राजनीतिमा हुँदैन । सक्नेले ८० मा पनि राजनीतिलाई हाँक्छ, नसक्ने साथी ४० मै पनि बाटो लाग्छ ।
युवा उमेरमै संघर्ष र सत्ताको सफल नेतृत्व गरेका थुप्रै उदाहरण छन् । तर यहाँनेर युवा पुस्ता या पाको पुस्ता कसले कहाँ कति सफल नेतृत्व गरे या असफल भए भन्ने प्रश्न छैन । राजनीतिक नेतृत्वमा युवा ठीक कि पाको रु भनेर कुनै वादविवाद प्रतियोगिताको आयोजना पनि यहाँ हुनलागेको होइन । बरु राजनीतिमा मिसनको सफलताका लागि युवा भए सार्थक, पाका भए घातक भन्ने मापदण्ड हुँदैन भनेर स्मरणमात्रै गराउन खोजिएको हो । यससँगै पाँचौ तर्क गाँसांै, दुनियाँको कुनै पनि राजनीतिक दर्शनले राजनीतिक नेतृत्वको परिभाषा गरिरहँदा उमेरको नक्सा र सीमा कोरेको छैन । नेतृत्वको सन्दर्भमा व्यक्तिको उमेर होइन, उसको वैचारिक, मानसिक र शारीरिक क्रियाशीलता हेरिन्छ । यद्यपि निश्चित 'सिस्टम'को विकास गर्न सकियो भने सक्रिय राजनीतिक नेतृत्वबाट विदाइ लिने एउटा निश्चित चरणको टुङ्गो गर्न सकिनेछ । छैठौ तर्कको रूपमा स्मरण गराउँ, जेसिजमा एउटा परम्परा छ- एक व्यक्ति एक कार्यकाल । राजनीतिक दल या राज्यसत्ताको निश्चित पदमा अब उप्रान्त निश्चित एकपटक मात्रै बस्न पाइने प्रावधान बनाउन सकिन्छ । जस्तो राष्ट्रपति पदमा एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक, सांसद चारपटक । कोही नेता ७० को उकालो कटेर अवकासमा पुग्लान्, कोही ६० मुनि नै विदावारी होलान् । तब हामी पार्टी र राज्यसत्ताको केन्द्रदेखि गाउँसम्मको नेतृत्वमा सदैव ताजगी राख्न सक्नेछौं ।
प्रश्न : पुस्ता कि प्रवृत्ति
अचम्म लाग्छ, बडा विद्वान मानिनु हुने डा। बाबुराम भट्टराईले यस्तै कुनै नयाँ सिस्टमको वकालत गर्नुभन्दा एकाएक 'त्याग'को व्यक्तिगत घोषणा गर्नुभो । उहाँको त्यागका पछि न कुनै नैतिक कारण भेटियो, न नवीन संस्कृति थालनीको पत्यारिलो संकल्प । उहाँले त केवल पदत्याग गर्नुभो, पदीय राजनीति होइन । मलाई लागेको थियो, संविधान नबनाई संविधानसभाले देहत्याग गरेको घटनाप्रति तत्कालीन प्रधानमन्त्रीका नाताले नैतिक जिम्मेवारी लिएर पदीय राजनीति नै त्याग गरेको हुँ भनेर उहाँले त्यो त्यागको औचित्य गाँस्नु हुनेछ । उहाँले त्यसो गरेको भए निश्चित राजनीतिक ुमिसनुमा असफल भएपछि राजनीतिको मैदान अरुलाई छाडिदिने थितिको सम्भवतः सुरुवात हुनसक्ने थियो र त्यसलाई बाबुराम परम्परा या बाबुराम सिद्धान्त भनिने थियो । ६० को हदम्याद सोच्नेभन्दा यस्तो सिद्धान्त खोज्ने कर्म उन्नत स्तरको हुँदैन र र ?
सातौं तर्क यही मोडमा जोड्न चाहन्छु । भविष्यमा कोही विनम्र र बौद्धिक शिक्षक, कुनै सुयोग्य प्रशासक या संसारको कुनै कुनामा रहेर अन्य पेसामा रहेको क्षमतावान नेपाली ६० वर्षमा जागिरबाट अवकास लिएपछि राजनीतिमा प्रवेश गरेर आफ्नो देशका लागि केही नयाँ विचार, दृष्टिकोण या पसिना दिन चाहन्छ भने उमेरको हदम्याद देखाएर उसलाई खेद्ने कि उसको सम्भावनालाई स्वागत गर्ने र ? 'कुशल कालिगढी मस्तिष्क भएका मानिसहरू आउ राजनीतिमा र बनाउ तिम्रो देश' भनेर पूर्वी टिमोरका सनाना गुजमाओले झैं हाम्रा शीर्षस्थहरूले अपिल गर्न जरुरी छ । देश हाँक्ने मन्त्रीमण्डलदेखि प्रान्तीय सरकारहरूमा समेत कम्तीमा पचास प्रतिशत मन्त्री सम्बन्धित विषयको दक्ष र अनुभवी हुनैपर्ने प्रावधान राखेर राजनीति बाहिरका सुयोग्यहरूलाई सक्रिय राजनीतिमा भित्र्याउन जरुरी छ । यस्तो फरक परिपाटी थालनीका लागि छलफल र बहस गरौं, उमेरको सीमा कोर्दैमा राजनीतिले दक्षता हासिल गर्न सक्दैन । प्रश्न पुस्ताको होइन, प्रवृत्तिको हो ।